Thursday, October 5, 2017

किन बन्न सकेन मधेशी दलको गठबन्धन ?


काठमाडौं–तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको पहिलो मधेश आन्दोलनको बेला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग मिलेर मधेशी मोर्चा बनाएका थिए । 
त्यसपछि त्यसमा महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपामा पनि सहभागि भयो । सहज र सजिलो तरिकाले मधेशी मोर्चा गठन भएको त्यो नै पहिलो थियो ।  त्यसपछि पटक पटक निस्कृय हुने र सक्रिय हुने कार्य भयो । 
निस्कृय भएका मधेशी मोर्चा मुस्किलले सक्रिय हुन्थे । कसैको दवावमा वा कसैको आग्रहमा मधेशी मोर्चा सक्रिय हुने गथ्र्यो तर यसपटक न कसैको दवाव काम लाग्यो नकसैको आग्रह । 
असोज १६ गते बाम गठबन्धनको कुरा आएपछि मधेशवादी दलको पनि गठबन्धन बन्नुपर्छ भनि निकै चर्चा भएको थियो । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच चुनावका लागि गठबन्धन बन्ने कुरा असोज १७ र १८ गते निकै चर्चामा रह्यो । 
त्यसको लागि राजपा नेपालबाट राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिह भण्डारीले दिनभरि प्रयास गरेका थिए । उनीहरुले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पटक पटक छलफल गरेका थिए । राजेन्द्र महतोले त स्थानीय तहको चुनाव सकिने वित्तिकै अगामी चुनावका लागि तालमेल गरेर जानुपर्छ भन्दै उपेन्द्र यादवसँग पटक पटक छलफल गरेका थिए । 
त्यति मात्रै होइन, राजपा नेपालको असोज ९ गते बसेको राजनीतिक समितिको बैठकले पनि फोरम नेपालसँग चुनावी तालमेल गर्ने निर्णय नै गरेको थियो । 
यी नेताहरुको प्रयास स्वरुप असोज १८ गते बसौ न त भनेका थिए । राजपा नेपालबाट तीनजना र फोरम नेपालबाट तीनजना राखेर एउटा कार्यदल बनाउने पनि कुरा थियो । असोज १८ गते बस्ने कुरा त भयो तर कहाँ र कति बजे बस्ने तय भएको थिएन ।
उपेन्द्र यादवले राजपा नेपालसँग छलफल गर्ने समय दिनुभन्दा पहिले माओवादी केन्द्र र एमाले गठबन्धनसँग पनि छलफल गरेका थिए । लगभग बाम गठबन्धनमा जाने निश्चित भइसकेको थियो । तर, अध्यक्ष यादवले पार्टीका अन्य नेतासँग सल्लाह गरेर आउने भनि निस्केका थिए । पार्टीमा उनले त्यसको विषयमा छलफल पनि गरे तर एमाले र माओवादी केन्द्रले सबै कुरा आपसमा गरिसकेपछि मात्र गठबन्धनमा आउन भनेको कारण त्यसमा जानुको अर्थ रहदैन भनि पार्टीबाट सुझाव आएको स्रोतले जनाएको छ । 
यद्यपी अध्यक्ष यादवको इच्छा वाम गठबन्धनसँग जाने नै थियो । तर पार्टीमा कुरा नमिलेपछि उनी पछाडि हटेका थिए । यता, राजपा नेपालका नेताहरुले पनि गठबन्धन बनाउन दवाव दिइरहेका थिए । राजपा नेपालसँग बस्ने तयारी भइरहेकै अवस्थामा काँग्रेस पार्टीले गठबन्धनकै विषयमा छलफल गर्नका लागि बोलायो । त्यसपछि राजपा नेपाल र फोरम नेपालको बैठक बस्दै नबसि दुवै दल बालुवाटार गएका थिए । 
सो बैठकबाट लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय भयो जसमा राजपा नेपाल र फोरम नेपाल पनि सहभागि भयो । त्यसपछि हालसम्म ती दुई दलको बीचमा कुनै बैठक बस्न सकेको छैन । 
मधेशवादी दल आपसमा गठबन्धन नबनाएर काँग्रेससँग गठबन्धन बनाएकोमा मधेशमा त्यसको आलोचना भइरहेको छ । मधेशबाट राजपा नेपाल र फोरम नेपालको बीचमा गठबन्धन बन्नु पर्ने दवाव परिरहेको छ ।  
 

No comments:

Post a Comment