Thursday, October 5, 2017

नैतिकता भएकैले सरकारमा बसिरहेका छौं: नारायणकाजी श्रेष्ठ



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि बढ्ने बताएका छन्।
केही कांग्रेसी नेताहरूले माओवादी मन्त्रीलाई सरकारबाट बर्खास्त गर्नुपर्ने बताइरहेका बेला श्रेष्ठले मन्त्री हटाइए देउवा सरकार अल्पमतमा पर्ने दावी गरेका हुन्। कांग्रेस नेताहरू अर्जुन नरसिंह केसी र गगन थापाले माओवादी मन्त्रीलाई सरकारबाट बिदाई गर्नुपर्ने बताइरहेका छन्।
संसदीय व्यवस्थामा एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवैसँगको गठबन्धनमा रहन नहुने कांग्रेस नेताद्वयको तर्क छ। कांग्रेसकै शेखर कोइरालाले पनि नयाँ गठबन्धन निर्माणपछि नैतिकताका आधारमा माओवादीका मन्त्रीहरुले सरकार छाड्नुपर्ने बताइरहेका छन्।
नेता श्रेष्ठले भने नैतिकताकै आधारमा आफ्नो पार्टी सरकारमा रहेको बताए।
‘हामी बाचा पूरा गर्न सरकारमा बसेका हौं। शेरबहादुरको नेतृत्वमा निर्वाचन गराउन बसेका हौं। पहिला कांग्रेस समर्थनमा हामीले नेतृत्व गर्‍यौं, अहिले हामी निस्कँदा सरकार अल्पमतमा पर्छ’, श्रेष्ठले भने।
उनले अहिले सरकार हेरफेर र परिवर्तन गर्न वैधानिक रुपमा नमिल्ने जिकिर गरे। ‘चुनाव घोषणा भएको बेला कसैले आफैं राजीनामा दिएको अवस्थामा बाहेक मन्त्रिपरिषद हेरफेर गर्न पाइँदैन भनेर निर्वाचन आयोगले भनेको छ’, श्रेष्ठले भने, ‘हामीले नैतिकताका आधारमा शेरबहादुर सरकारलाई चुनाव गराउने बेलासम्म लैजाने भनेको हो।’

No comments:

Post a Comment