Thursday, October 5, 2017

मधेशी दललाई सरकारमा सहभागि हुन दवाव

हेनुहोस 

काठमाडौ–काँग्रेस नेतृत्वको सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी भइरहेको भनिएका बेला मधेशवादी दलमाथि सरकारमा सहभागि हुन दवाव बढेको छ ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई सरकारबाट हटाउने भन्दै परामर्श गरिरहेको बताइन्छ । स्रोतका अनुसार देउवा  आफ्ना पार्टी तथा कानुन विद्सँग छलफल गरेपछि माओवादीका मन्त्रीलाई हटाउने मनस्थितिमा पुगेका छन्  । तर माओवादी केन्द्रलाई हटाएपछि अरु कुन कुन दल सरकारमा सहभागि हुने भन्नेमा प्रस्ट भइसकेको छैन । 
प्रधानमन्त्री देउवाले त्यसका लागि अर्थ मन्त्री ज्ञानेन्द्र कार्की तथा पार्टीका नेता विमलेन्द्र निधिलाई खटाएका छन् । उनीहरुले मधेशवादी दलका नेताहरुलाई सरकारमा सहभागि हुनका लागि आग्रह गरिसकेका छन् ।
सरकारमा सहभागि हुने कि नहुने अन्योलमा रहेका मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालले अझैसम्म नाम पठाएको छैन । हुन त सरकारमा माओवादी केन्द्रलाई राख्नु हुँदैन भनि मधेसी दलले नै सुझाव दिएको बताइन्छ । सोहि कारण मधेशवादी दलका लागि अब सरकारलाई टिकाउने नैतिक दवाव परेको छ ।
यसो त राजपा नेपाल र फोरम नेपालले पनि सरकारलाई समर्थन गरेकै हो । तर अब सरकारमा सहभागि हुने दवाव पनि परेको सम्बद्ध नेताहरु बताउँछन् । त्यसकै लागि यी दुई दल छुट्टा छुट्टै छलफलमा लागेका छन् । चुनावको मुखमा सरकारमा सहभागि हुने नहुने भन्ने विषयमा मधेशी नेताहरु गम्भीर भएर छलफलमा लागेका छन् ।
भारतका लागि पनि काँग्रेसको सरकार टिकाउन प्रतिष्ठाको विषय बनेको छ । माओवादी सरकारबाट बाहिरिएपछि मधेशवादी दललाई सरकारमा सहभागिका लागि भारतीय दूतावासका प्रतिनिधिहरुले पनि सल्लाह दिएको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले सरकारबाट फिर्ता भएपनि काँग्रेस नेतृत्वको सरकार ढल्दैन ।  त्यसका लागि हिजो तयार भएको लोकतान्त्रिक गठबन्धनले साथ दिनुपर्छ ।
काँग्रेससँग २०७, राजपा नेपालसँग २४, लोकतान्त्रिक फोरम १७, संघीय फोरम १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्र) सँग १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १९ सांसद रहेका छन् । यी सबै गरेर ३०० मत काँग्रेससँग देखिन्छ जब कि सरकार बनाउनका लागि २९७ मत चाहिन्छ ।
कमल थापा नेतृत्वको राप्रपाबाहेक अरु सबै दल सरकारका समर्थक नै हो । पशुपति शम्शेर जवरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सरकारमै सहभागि रहेका छन् । राजपा र फोरम नेपालले समर्थन मात्र दिएका छन् । कमल थापा नेतृत्वको राप्रपा सरकारभन्दा बाहिर रहेको छ । गठबन्धनमा बस्ने सहमति जनाएको राप्रपाले सरकार गठनमा के गर्ने हो त्यसको अन्योलका कारणले पनि देउवाले अगाडिको कदम नचालेको काँग्रेस निकट स्रोतले जनाएको छ ।
कमल थापा, उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी सरकारमा सहभागि हुने बताई सकेपछि देउवाले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने बताइएको छ ।
कलम थापालाई पनि सरकारमा सहभागि गराउनका लागि प्रयास भइरहेको छ ।
यद्यपी राजपा नेपालका महासचिव मनिष सुमनले सरकारलाई पहिलादेखि समर्थन रहेको भन्दै  अहिले सरकारमा सहभागि नहुने बताए । ‘काँग्रेसबाट त्यस्तो कुनै प्रस्ताव आएको कुरा मलाई थाह छैन, तर राजपा नेपाल सरकारमा जाँदैन भन्ने मलाई लाग्छ,’ उनले भने ।

No comments:

Post a Comment