Thursday, October 5, 2017

माओवादी एमालेसँग मिलेपछि सरकारबारे यस्तो छ कांग्रेसको रणनीति


काठमाडौं– एमाले, माओवादी र नयाँ शक्तिवीच ‘बाम गठबन्धन’ बने लगत्तै त्यसको काउन्टरमा २४ घण्टाभित्रै लोकतान्त्रिक गठबन्धन बनेपछि मुलुकको राजनीति थप पेचिलो बनेको छ । 
पेचिलो यसकारण कि सत्तासिन दलहरुले नै छुट्टा–छुट्टै र एकअर्काका प्रतिस्पर्धी गठबन्धन कस्न थालेपछि सत्तासहयात्राका बारेमा समेत प्रश्न उठाउन थालिएको छ र सत्तासहयात्री दल बाहिरिए त्यसको सामना गर्न सरकारको नेतृत्वकर्ता दल तयार भएको छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले सत्तासहयात्री दल माओवादी अर्कै मोर्चामा गएपछि उ बाहेक नै सरकार सञ्चालन गर्ने आन्तरिक तयारीस्वरुप प्रधानमन्त्री देउवाले बुधबार नै कानुन व्यवसायीसँग छलफल गरिसकेका छन् । यद्यपी कांग्रेसले यसबारे कुनै छलफल नगरेको दावी पनि गरेको छ । 
तर, प्रधानमन्त्री देउवाले माओवादीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई सरकार ‘छोड्नु नभन्ने तर छोड्छु भने नछोड्नु’ नभन्ने नीति लिएका छन् । त्यसका लागि देउवाले बाम गठबन्धनको काउन्टरमा गठन गरेको लोकतान्त्रिक गठबन्धनमा सहभागि दलहरुसँग परामर्श गरि यदि माओवादीले सरकार छाडे त्यसको बदलामा अरु दलबाट मन्त्री बनाउने विषयमा कुराकानी र छलफल पनि गरिसकेका छन् । 
माओवादीले सरकार छाडेपनि बहुमत कायमै रहने भएकाले पनि देउवा त्यस्तो रणनीतिमा लागेको श्रोतले बताएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसी लोकतान्त्रिक पद्धतिलाई मान्ने हो भने माओवादी विपक्षी गठबन्धनमा लागेकाले उसले अव सरकारमा बस्न नैतिक रुपमा अप्ठ्यारो पर्ने बुझेर आफै बाहिरिए राम्रो हुने बताउँछन् । भन्छन् ‘छुट्टै मोर्चा बनाएर गइसकेपछि नैतिक रुपमा आफै बाहिरिए उसलाई व्यवहारिक सहजता हुनसक्छ ।’
यता, बुधबार राति देउवाको सक्रियतामा बनेको ६ दलीय लोकतान्त्रिक गठबन्धन गठनपछि बालुवाटारमा सञ्चारकर्मीलाई प्रतिकृया दिदै कांग्रेस नेता बिमलेन्द्र निधीले माओवादीबाहेक नै सरकार सञ्चालन गर्न सकिने प्रतिकृया दिएका थिए । यद्यपी उनले माओवादीलाई सरकारबाट हटाउने भन्दा पनि आफै छाडे सजिलो हुने घुमाउरो जवाफ दिएका थिए । 
लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपाल  सम्मिलित छन् । चुनावी सहकार्यका लागि बाम गठबन्धनलाई काउन्टर दिन छुट्टै गठबन्धन बनाएपनि माओवादीलाई सरकारबाट हटाउने वा बर्खास्त गर्ने विषयमा कुनै चर्चा नभएको कांग्रेस नेता डा प्रकाश शरणमहतले बताए । उनले रातोपाटीसँग भने ‘समय थोरै छ , निर्वाचन आइसकेको छ, संसदको म्याद पनि अव १५ दिन भन्दा बढि छैन,यस्तो अवस्थामा सरकारमा रहेको दललालाई सरकारबाट हटाउने भन्ने कांग्रेस र गठबन्धनले सोचेकै छैन, तर माओवादीले नै सरकारमा बस्दिन भन्यो भने उसलाई बस भनिराख्न पनि जरुरी छैन ।’ डा महतले गठबन्धन र सरकार फरक फरक पाटो भएकाले गठबन्धनसँग सरकारको विषयलाई जोड्न नहुने पनि बताए । ‘ यी दुवै विषय फरकफर हुन् यसरी एकै ठाउमा ल्याएर मोल्नु उचित हुन्न’, लोकतान्त्रिक गठबन्धन निर्माणमा सक्रिय रहेका महतले भने । 
त्यसो त बाम गठबन्धन घोषणा गरेकै दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गठबन्धन र सरकार फरकफरक विषय भएकाले सरकारलाई असहयोग नगर्ने स्पष्ट पारेका थिए । 

No comments:

Post a Comment