Friday, October 6, 2017

राजपा र फोरमको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)

राजपा र फोरमको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)





काठमाडौं– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । 
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।  
जारी विज्ञप्तिमा अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागि हुने उल्लेख छ । राजपा र फोरमको नयाँ निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ ।

नारायणगढ–मुग्लिन सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे

 नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् ।

 नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् । उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ । अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म ३७ लाख ७३ हजार २५ रुपैयाँ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको १० लाख ३२ हजार ८४२ रुपैयाँ पनि तिहार अघि नै वितरण गरिने उनले जानकारी दिए। मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहेका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताए। उनका अनुसार ती घरपरिवारलाई समितिले एक करोड ४४ लाख १४ हजार ६०६ रुपैयाँ मुआब्जा निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताए। यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर २० हजार रुपैयाँ, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम १० हजार रुपैयाँ, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि १० हजार रुपैयाँ र दलित जनजाति भएमा थप १० हजार रुपैयाँ समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र २० लाख ८० हजार रुपैयाँ वितरण गरिदै छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरूलाई स्थानान्तरण गर्नु परेको हो । Share: 

६ दलीय गठबन्धनको कार्यदलमा ८ नाम सिफारिस, पहिलो बैठक बस्दै

६ दलीय गठबन्धनको कार्यदलमा ८ नाम सिफारिस, पहिलो बैठक बस्दै


कांग्रेससहितका ६ दलद्वारा चुनावी तालमेलको योजना बनाउन गठित कार्यदलको पहिलो बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
बुधबार साँझ बसेको ६ दलका शीर्ष नेताको बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलका सदस्यको नाम भने बल्ल आज टुंगो लागेको छ।
कार्यदलमा नेपाली काँग्रेसका तीन जनासहित ८ जना छन्।
काँग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, पूर्ण बहादुर खड्का, राजपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका रामसहाय यादव, नेपाल लोकतान्त्रिक फोरमका गोपाल दहित, राप्रपका  बुद्धिमान तामाङ र र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे उक्त कार्यदलमा छन्।
६ दलको कार्यदलले कसरी र कहाँ-कहाँ तालमेल गर्नेबारे टुंगो लगाउने भनिएको छ।
बुधबार साँझ यी ६ दलका शीर्ष नेताहरुको बैठकले कार्यदल बनाएर तालमेलबारे टुंगो लगाउने समझदारी गरेका थिए।
सत्तारुढ दल माओवादी केन्द्र र एमाले एकतापछि काँग्रेसको पहलमा ६ दलीय गठबन्धन बन्ने समझदारी भएको थियो।



अर्घाखाँचीमा बस दुर्घटना:२ को मृत्यु, ३० जनाभन्दा बढी घाइते

अर्घाखाँचीमा बस दुर्घटना:२ को मृत्यु, ३० जनाभन्दा बढी घाइते



अर्घाखाँचीको मालारानी ३ मा लु १ ख ७५१८ बस दुर्घटना हुँदा २ जनाको  मृत्यु छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा  मालारानी ३ का १० वर्षिय अभियान आचार्यको परिचय खुलेको छ भने  अर्की अन्दाजी ३० वर्षिया महिला रहेको बताइएको छ । १० जनाको अवस्था गम्भीर रहेको छ ।
बस सडकभन्दा १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदैँ छ ।

माओवादीबारे ‘पर्ख र हेर’को मनस्थितिमा देउवा

माओवादीबारे ‘पर्ख र हेर’को मनस्थितिमा देउवा



सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतीपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी नै एकीकरण गर्ने निर्णय गरेपछिको नेपाली कांग्रेस केन्द्रीय समितिको बालुवाटारमा सुरू भएको पहिलो बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ।
वाम तालमेलले उत्पन्न परिस्थिति, माओवादीलाई सरकारमा राख्ने/नराख्ने, कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन पहल गरेको गठबन्धन र चुनावी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
माओवादीले एमालेसँग गठबन्धन गर्ने सार्वजनिक गरेपछि कांग्रेसभित्र तत्काल दुई विषयमा दबाब परेको छ– आगामी संसद र प्रदेशको निर्वाचनमा वाम गठबन्धनसँग प्रतिष्पर्धा गर्न मिलेसम्मका पार्टीलाई लिएर अर्को गठबन्धन तयार गर्नुपर्ने र माओवादीलाई सरकारबाट निकाल्नु पर्ने।
दुई प्रमुख वाम पार्टीहरुले गठबन्धन अगाडि बढाए पनि तत्काल सरकार फेर्न पहल नगर्ने निर्णय गरिसकेका छन्। माओवादी सरकारमै रहेर चुनाव लड्ने पक्षमा छ। कांग्रेसभित्र भने कतिपयले प्रतीपक्षीसँग गठबन्धन गरिसकेपछि माओवादीले सरकार छोड्नुपर्ने नत्र उसलाई सरकारबाट हटाउनु पर्ने आवाज उठाएका छन्।
कांग्रेसका युवा नेता गगन थापा, नारायण खड्का, अर्जुननरसिंह केसीलगायतले माओवादीले सरकार छोड्नु पर्ने सार्वजनिक रूपमै बोलेका छन्। माओवादीकै गृहमन्त्री राखेर चुनाव जानु एमाले–माओवादी गठबन्धनलाई सहयोग पुर्याउनु हो भन्दै माओवादीलाई सरकारबाट हटाउनु पर्ने तर्क पार्टीभित्र गर्ने अरु धेरै नेता/कार्यकर्ता छन्। माओवादी बाहेक पनि सरकारलाई बहुमत पुग्ने भएपछि उसलाई  किन सरकार राख्ने भन्ने उनीहरु तर्क छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भने तत्काल माओवादीलाई सरकारबाट हटाउने पक्षमा छैनन्। ‘उहाँ पर्ख र हेरको मनस्थितिमा हुनुहुन्छ,’ देउवानिकट एक नेताले सेतोपाटीसँग भने।
एमाले–माओवादी गठबन्धन गर्ने निर्णय सार्वजनिक भएयता मन्त्रिपरिषद्को बैठक बसेको छैन।
‘माओवादी मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा आउँछन् आउँदैनन्, आएर के भन्छन् वा कस्तो व्यवहार गर्छन् प्रधानमन्त्री हेर्ने पक्षमा हुनुहुन्छ,’ एक मन्त्रीले भने।
माओवादीलाई सरकारबाट हटायो भने माओवादी एमाले मिलेर अविश्वासको प्रस्ताव ल्याउँछन् /ल्याउँदैनन् भन्ने विषयमा पनि कांग्रेसभित्र छलफल भएको छ। अविश्वासको प्रस्तावतिर लाग्दा समय लम्बिने र सरकार गठन र बिघटनको प्रक्रियाले चुनाव प्रभावित हुन सक्ने विश्लेषणका कारण माओवादी र एमालेले अहिले सरकार नफेर्ने निर्णय गरेको कांग्रेसको बुझाइ रहेको कांग्रेस एक नेताले बताए।
‘केही समय कुर्यो भने माओवादी र एमालेबीचको चुनावी तालमेल र एकीकरण प्रक्रिया कसरी अगाडि बढ्छ/बढ्दैन त्यो पनि एकीन हुन्छ,’ ती नेताले भने, ‘त्यसैले प्रधानमन्त्री हतार गर्ने पक्षमा हुनुहुन्न।’
माओवादीलाई सरकारबाट हटाउनै पर्ने निष्कर्षमा प्रधानमन्त्री देउवा पुगे भने पनि कात्तिक ५ गते संसदको अवधि सकिनुअगाडि त्यस्तो कदम चाल्ने सम्भावना कम छ।

काँग्रेसको सहयोगबिना प्रचण्डले चितवन-३ जित्छन्?

काँग्रेसको सहयोगबिना प्रचण्डले चितवन-३ जित्छन्?




नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नम्बर-३ बाट संसदीय निर्वाचन लड्ने घोषणा गरिसकेका छन्।
उनले चितवनबाट निर्वाचन लड्ने घोषणा गर्दै गर्दा माओवादी काँग्रेससँग गठबन्धनमा थियो। काँग्रेस-माओवादीबीच संसदीय चुनावमा पनि तालमेल हुने चर्चा थियो। धेरैलाई लागेको थियो, चितवन क्षेत्र नम्बर ३ मा काँग्रेसले प्रचण्डलाई साथ दिनेछ, किनकि प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन उसले साथ दिएको थियो। चितवनको यो क्षेत्रमा परम्परागत रुपमै काँग्रेस बलियो छ।
२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट काँग्रेस सभापति सुशील कोइराला निर्वाचित भएका थिए। २०६४ सालमा बाँकेबाट चुनाव हारेका कोइराला सुरक्षित निर्वाचन क्षेत्र खोज्दै ०७० सालमा चितवनबाट पनि उठेका थिए।
अहिले परिस्थिति फेरिएको छ। एमाले-माओवादी चुनावी गठबन्धन मात्र भएको छैन, उनीहरुले पार्टी एकता नै गर्ने निर्णय गरेका छन्। यता, काँग्रेस-माओवादी सम्बन्ध चिसिएको छ।
यो अवस्थामा प्रचण्डले चितवन-३ बाट चुनाव जित्छन्?
यो प्रश्नको उत्तर खोज्न सबभन्दा पहिले पछिल्लो स्थानीय चुनावमा यो क्षेत्रमा काँग्रेस, एमाले र माओवादी पक्षमा खसेका मत विश्लेषण गर्नुपर्छ।
०७० सालको चुनावमा चितवनमा जम्मा ५ निर्वाचन क्षेत्र थिए। अब आउने निर्वाचनमा तीन क्षेत्र मात्र कायम छन्। तीन नम्बर क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा- ६, ८, ९, १३, १४, ५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ पर्छन्। त्यसबाहेक ९ वटा वडा भएको माडी नगरपालिका पनि तीन नम्बरमै पर्छ ।
भरतपुर महानगरका यी १९ वटा वडामध्ये काँग्रेसले १० वटा वडा स्थानीय तह निर्वाचनमा जितेको छ। ६ वटा वडा एमालेले जितेको छ भने ३ वडा माओवादीले जितेको छ।
माडी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ। यो नगरपालिकामा एमालेले ५ वटा वडामा जितेको छ भने माओवादीले ३ र काँग्रेसले १ मा जितेका छन् ।
भरतपुर महानगरपालिकाका यी १९ वटा वडामा नेपाली काँग्रेस वडाध्यक्ष उम्मेदवारले जम्मा २३ हजार ४ सय ८५ मत पाएका थिए। यी वडामा एमाले उम्मेदवारले २० हजार ८ सय ४३ र माओवादी केन्द्र उम्मेदवारले १३ हजार ७ सय ५१ मत पाएका थिए।
एमाले र माओवादी उम्मेदवारले वडा तहमा पाएको मत जोड्दा यी १९ वडामा ३४ हजार ५ सय ९५ मत पुग्छ। जबकी यिनै वडामा काँग्रेसको जम्मा २३ हजार ४ सय ८५ मत मात्र छ।
यो क्षेत्रमा पर्ने माडी नगरपालिकाको ९ वटा वडामा काँग्रेसले जम्मा ३ हजार ४ सय ३६ मत पाएको थियो। एमालेले ४ हजार २ सय ३८ र माओवादीले ३ हजार ७ सय ६६ मत पाएको थियो ।
एमाले र माओवादी वडा अध्यक्ष उम्मेदवारहरुले पाएको मत जोड्ने हो भने ८ हजार २ मत हुन्छ ।
यसरी हेर्दा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिकाका ९ वडामा काँग्रेसले जम्मा २६ हजार ९ सय २१ पाएको छ।
यी वडामा माओवादी र एमाले उम्मेदवारहरुले पाएको मत जोड्दा ४२ हजार ५ सय ९५ हुन आउँछ।
तीन नम्बर क्षेत्रमा पर्ने यी वडामा राप्रपाको पनि ८ हजार ३ सय २२ मत छ।
काँग्रेस र राप्रपा एउटै गठबन्धनमा बसे भने यसको पक्षमा ३४ हजार मत हुन्छ।
पछिल्लो स्थानीय चुनावमा जसले माओवादी र एमालेलाई मत दिए, ती सबैले आउने चुनावमा प्रचण्डलाई नै मत दिन्छन् भन्ने छैन। त्यस्तै काँग्रेस-राप्रपाले पाएको भोट पनि यी दुई पार्टीको संयुक्त उम्मेदवार बन्यो भने उसैले पाउँछ भन्ने पनि छैन।
मतदाताले पार्टी मात्र नभएर उम्मेदवार पनि हेर्छन्। उम्मेदवारका हिसाबले प्रचण्ड सबभन्दा शक्तिशाली हुने नै छन्। ती मतदाता जसले रेणुलाई मत दिएर जिताए, उनले प्रचण्डलाई मत दिन्नन् भन्ने कुनै बलियो आधार छैन।
त्यसैले चितवन ३ बाट प्रचण्ड उठे भने उनी त्यो क्षेत्रको बलियो दावेदार हुनेछन् र चुनाव जित्ने सम्भावना बलियो हुनेछ।